ओस्लो, २०२५ जुलाई ६, आइतबार — गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्वेको आयोजनामा राजधानी ओस्लोको Vallhall Arena मैदानमा आयोजित ऐभरेस्ट कप मैत्रीपूर्ण फुटबल टुर्नामेन्ट २०२५ भव्य रूपमा सम्पन्न भएको छ। सन् २००८ मा चट्याङ्ग लागेर ज्यान गुमाएका नेपाली विद्यार्थी कञ्चन कार्कीको स्मृतिमा आयोजित प्रतियोगिता यो वर्ष १३औं संस्करणमा प्रवेश गरेको हो। एनआरएनए नर्वेले आफ्नो वार्षिक कार्यतालिकाअनुसार २०१३ देखि निरन्तर आयोजना गर्दै आएको यो प्रतियोगितामा यस वर्ष नर्वेमा क्रियाशील विभिन्न क्लब तथा नेपाली संघ–संस्थाका प्रतिनिधित्व रहने गरी जम्मा ८ टिम सहभागी भएका थिए। कार्यक्रमको औपचारिक उद्घाटन एनआरएनए नर्वेका अध्यक्ष विष्णु गौतमले बिहान ९:३० बजे नेपाली राष्ट्रिय धुन बजाउँदै गर्नुभएको थियो। प्रतियोगिता सफल बनाउन आयोजकले ठूलो संख्यामा स्वयंसेवक परिचालन गरेको थियो। युवा संयोजक असीम लम्सालले प्रतियोगिताको उद्देश्य नेपाली समुदायबीच आपसी सद्भाव, सहयोग र सम्बन्धलाई खेलको माध्यमबाट अझ सशक्त बनाउने रहेको जानकारी दिनुभयो।
ओस्लो युनाइटेड दोश्रोपटक विजेता
कडा प्रतिस्पर्धाबीच अन्ततः ओस्लो युनाइटेडले उपाधि जित्दै लगातार दोस्रो पटक एभरेस्ट कप आफ्नो नाममा राख्न सफल भयो। युनाइटेड ब्रदर्स एफसी उपविजेता बन्न सफल भयो। विजेता टिमले १५,००० नोक नगदसहित ट्रफी प्राप्त गर्दा उपविजेता टिमले १०,००० नोक नगद र ट्रफी प्राप्त गर्यो।
उत्कृष्ट खेलाडी र पुरस्कारहरू
- उत्कृष्ट खेलाडी: एनआरएनए नर्वेका भेषराज सापकोटा
- टप स्कोरर: ओस्लो युनाइटेडका मौसम नेपाल
- उत्कृष्ट गोलकिपर: ओस्लो युनाइटेडका अमृत तामाङ
- निष्पक्ष खेल प्रदर्शन: टिम टेलेमार्क
- उदयीमान खेलाडी: एनआरएनए नर्वेका सुसाङ्क पुडासैनी
उक्त विधामा विजेता भएका खेलाडीहरूलाई नगद पुरस्कार र ट्रफी प्रदान गरिएको थियो। कार्यक्रममा विभिन्न संघ–संस्था, पदाधिकारी, संरक्षक, सल्लाहकार, सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो।
बच्चाहरू र ३५+ समूहको खेल
यस वर्षको विशेष आकर्षणका रूपमा १३ वर्ष मुनिका ४० जना बालबालिकाबीच छुट्टै फुटबल खेल आयोजना गरिएको थियो। त्यस्तै, ३५ वर्ष माथिका उमेर समूहका ३० जना सहभागी बीच पनि मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको थियो।
नेपाली स्वाद र संस्कृति
फुटबल प्रतियोगितासँगै नेपाली स्टलहरू पनि राखिएको थियो। स्टलहरूमा नेपाली मोमो, सेल रोटी, चाउचाउ लगायतका परिकार प्रस्तुत गरिएको थियो भने महिलाहरूलाई लक्षित गर्दै पानीपुरी स्टल विशेष आकर्षण बनेको थियो। नेपाली स्वादको मज्जा लिँदै टिमप्रति हौसला प्रकट गर्न ठूलो संख्यामा नेपालीहरू मैदानमा उपस्थित भएका थिए।
कार्यक्रमको समापन
करीब ४०० जनाको उपस्थिति रहेको प्रतियोगितामा बिहानको खाजाको व्यवस्था आयोजकले गरेको थियो। कार्यक्रममा अध्यक्ष विष्णु गौतमले सहभागी सबैलाई धन्यवाद दिँदै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम गर्न सहयोगको अपेक्षा गर्नुभयो। कार्यक्रमको संचालन युवा संयोजक असीम लम्सालले गर्नुभएको थियो। प्रतियोगिता साँझ ६:३० बजे समापन गरिएको थियो।
— एनआरएनए नर्वे समाचार डेस्क














